प्रेमी को गिफ्ट ले गुमाइन् प्रेमिकाले सुन्नेशक्ति कानमै पड्कियो इयरबड्स
टर्कीका एक व्यक्तिले सामसङ ग्यालेक्सी बड्स एफई इयरबड्स कानमै पड्किँदा उनकी प्रेमिकाले सधैंका लागि श्रवणशक्ति गुमाएको खबर भर्खरै बाहिरिएको छ । उक्त घटना सामसङको कम्युनिटी फोरममा पोस्ट गरिएको थियो। टर्किश सञ्चारमाध्यम वेबटेन्को डटकमले पनि यसबारे समाचार प्रकाशित गरेको छ।
पीडितले इयरबड्स ग्यालेक्सी एस २३ अल्ट्रा स्मार्टफोनसँग पेयर गरेपछि ३६ प्रतिशत चार्जमा इयरबड्स कानमा राखेको बताए। केही क्षणमा नै इयरबड्स पड्किएर उनको प्रेमिकाले श्रवणशक्ति गुमाएको आरोप लगाइएको छ। पीडित व्यक्तिले यसअघि पहिलो इयरबड्स बिग्रिएको हुँदा सर्भिस सेन्टरले माफी मागेर अर्को इयरबड्स दिएका थिए, जुन प्रयोग गर्दा घटना भएको हो।
इयरबड्स पड्किएपछि उनले सामसङलाई सम्पर्क गरेका थिए, तर कम्पनीले घटनाको बारेमा विस्तृत जानकारी माग्दै इयरबड्स साटिदिने मात्र भनेकोमा उनी असन्तुष्ट भए। सामसङले विज्ञप्ति जारी गर्दै इयरबड्सबारे अनुसन्धान भइरहेको र वास्तविक कारण पत्ता नलागेको बताएको छ।
यस घटनाले विश्वभरका ब्लुटुथ इयरबड्स प्रयोगकर्तालाई चिन्तित बनाएको छ, र सामाजिक सञ्जालमा सामसङलाई सुरक्षा उपायलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ। इयरबड्समा पनि लिथियम आयन ब्याट्री प्रयोग हुन्छ, जसले कुनै पनि समस्या नआउनु अघि ब्याट्रीको तापक्रम, पानीसँगको सम्पर्क जाँच गर्न सुझाव दिइएको छ।