बुधबारदेखि फेरि वर्षाको सम्भावना, यी जिल्ला हरु मा पर्ने छ बढी प्रभाव
आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका विभिन्न जिल्लामा फेरि वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी अनुसार कोशी प्रदेशका केही स्थानहरू, मधेश, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत हुने सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार बुधबारदेखि शनिबारसम्म अपराह्नपख गण्डकीदेखि कोशी प्रदेशसम्म व्यापक वर्षा हुन सक्नेछ। यद्यपि लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भने वर्षाको खासै सम्भावना नरहेको उनको भनाइ छ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम नै छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले थप प्रभाव पारेपछि असोज ११ र १२ गते भारी वर्षाका कारण विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको थियो। अत्यधिक वर्षा गराउने बादलहरू कोशी, बागमती, र गण्डकी प्रदेशमा केन्द्रित रहेपनि अहिले ती बादलहरू कमजोर हुँदै पूर्वतिर सर्दै गएका छन्।
काठमाडौं उपत्यकासहित देशको पश्चिमी भूभागमा हाल मौसम सुधार भइरहेको छ र घाम लागिरहेको छ। सोमबार दिउँसोसम्म मौसम खुला रहने अनुमान गरिएपनि अपराह्नपछिको समय भने आंशिक बादल लाग्न सक्नेछ। मंगलबार अपराह्नदेखि कोशी प्रदेशका पूर्वी भूभागका केही जिल्लाहरूमा बादल लागेर हल्का वर्षा सुरु हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यस क्रममा कोशी, बागमती, र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ, जसले गर्दा स्थानीयहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।