यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, युवक थुनामा युवक ले दिए यस्तो बयान
यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको गुजरात राज्यको नवसारी जिल्लामा एक हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ यौन सम्पर्कका क्रममा एक युवतीको मृत्यु भएपछि २६ वर्षीय युवकलाई प्रहरीले गिरफ्तार गरेको छ। युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार ती युवकले यौन सम्पर्कपछि युवतीलाई अत्यधिक रक्तस्राव भएको थाहा पाए पनि तत्काल अस्पताल लैजानुको सट्टा औषधि अनलाइनबाट मगाउने प्रयास गरेका थिए। यो लापरबाहीका कारण युवतीको मृत्यु भएको हो।
प्रहरीले दिएको जानकारी अनुसार, पीडित युवतीको मृत्यु अत्यधिक रक्तस्रावका कारण भएको पुष्टि भएको छ। फरेन्सिक रिपोर्टले पनि यही निष्कर्ष निकालेको छ। स्थानीय प्रहरी प्रमुख सुशील अग्रवालले बताएअनुसार, युवकले समयमै अस्पताल लैजाने पहल गरेको भए युवतीको जीवन बचाउन सकिन्थ्यो।
घटना सेप्टेम्बर २३ का दिन घटेको हो, जब आरोपी युवक र पीडित युवती होटलमा केही निजी समय बिताउन पुगेका थिए। युवती नर्सिङ विषयकी छात्रा थिइन् र युवकसँग तीन वर्ष अघि नै परिचित थिइन्, तर दुई वर्षदेखि उनीहरूको कुनै सम्पर्क थिएन। पछिल्लो केही महिनामा मात्रै उनीहरूबिच पुनः सम्पर्क भएको थियो।
घटनाको क्रममा, युवतीसँग यौन सम्पर्कपछि रक्तस्राव सुरु भयो। तर, युवकले एम्बुलेन्स बोलाएर युवतीलाई अस्पताल लैजाने सट्टा विभिन्न औषधि अनलाइनबाट मगाउने प्रयास गरेको र यस क्रममा समय खेर फालेर साथीहरूसँग परामर्श लिइरहेको पाइएको छ। जब परिस्थिति गम्भीर बन्दै गयो, तब पनि युवकले युवतीलाई अस्पताल लैजाने प्रयास नगरेको प्रहरीको आरोप छ। थप रूपमा, होटलबाट बाहिरिनु अघि युवकले प्रमाण नष्ट गर्ने प्रयास गरेको, रगतका दागहरू सफा गर्ने प्रयास गरेको बताइएको छ।
प्रहरीले पीडित र आरोपीको नाम गोप्य राखेको छ। यस घटनाले समाजमा व्यापक चर्चा र आक्रोश उत्पन्न गराएको छ, जहाँ लापरवाहीको कारण एक निर्दोष युवतीले आफ्नो जीवन गुमाउनु परेको छ। आरोपी युवकविरुद्ध थप अनुसन्धान जारी राखिएको छ, र उसलाई कडा कारवाही गरिने बताइएको छ।