फतुवा बिजयपुर नगरपालिकाका अधिकांश वडा कार्यालयहरू अझै पनि भाडाका घरबाट सञ्चालन हुँदै आएका छन्। वडा नम्बर १, ३, ६, र १० लाई आफ्नो प्रशासनिक भवनको अभावले कार्य सम्पादनमा कठिनाइ भइरहेको छ।
स्थानिय बासिन्दा जगरूप चौधरीका अनुसार, स्थानीय सरकारको स्थापना भएको ७ वर्ष बितिसक्दा पनि वडा कार्यालयहरू आफ्नै भवनमा सर्न नसक्नु दुःखद हो। उनका तर्कअनुसार, वडा कार्यालयहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नगरपालिका र वडाका जनप्रतिनिधिहरूले आफ्नै भवन निर्माणतर्फ तत्काल ध्यान दिनु जरुरी छ।
तर, सकारात्मक पक्षका रूपमा वडा नम्बर ११ ले आफ्नै भवन निर्माणमा अग्रसरता देखाएको छ। भाडाको कोठामा सञ्चालन हुँदै आएको यो वडाले बजार व्यवस्थापन समितिको सहमतिमा भवन निर्माणलाई तीव्रता दिएको छ।
वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीका अनुसार, १४ लाखको लागतमा निर्माण भइरहेको यो भवन चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने लक्ष्य राखिएको छ। यसअघि १० लाखको लागतमा छत ढलानको काम पूरा भइसकेको थियो। हाल पर्खाल, पलास्टर, र वायरिङ्गलगायतका काम तीव्र गतिमा अघि बढिरहेका छन्।
वडा बासिन्दाहरूले नगरपालिकाका अन्य वडाहरूसमेत आफ्नै भवन निर्माणमा ध्यान दिनुपर्ने माग गरेका छन्। सेवा प्रभावकारी बनाउनका लागि समयमै यी संरचनाहरू तयार गर्नु अपरिहार्य रहेको उनीहरूको तर्क छ।
तपाईँको विचारमा, स्थानिय सरकारलाई यो समस्या समाधान गर्न कस्तो कदम चाल्नुपर्छ?