बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया सोमबार काठमाडौं आइपुगेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीले गरेका थिए। एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास प्रस्थान गरेकी छन्।
राजकुमार एडवार्ड केही समयपछि काठमाडौं आइपुग्ने कार्यक्रम छ। नेपालमा उनको आगमनपछि दम्पती दिउँसो शीतल निवास जानेछन्, जहाँ उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्नेछन्।
६ दिनको भ्रमण तालिका
बेलायती राजकुमार दम्पती ६ दिनसम्म नेपाल भ्रमणमा रहनेछन्। भ्रमणको क्रममा उनीहरूले विभिन्न सामाजिक, सांस्कृतिक, र जैविक विविधतासम्बन्धी गतिविधिमा सहभागी हुनेछन्।
उनीहरूको भ्रमण तालिकामा पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पको भ्रमण प्रमुख आकर्षण हो। क्याम्पमा हालै बेलायती सेनामा छनोट भएका नेपाली जवानहरूको औपचारिक ब्याज वितरण समारोहमा उनीहरू सहभागी हुनेछन्।
यस्तै, उनीहरूले हेलिकप्टरबाट अन्नपूर्ण हिमाल अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।
महिला सशक्तिकरण र सामाजिक चासो
सोफिया, जो संयुक्त राष्ट्र संघको महिला, शान्ति, र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन्, भ्रमणका क्रममा बेचबिखन तथा लैंगिक हिंसाबाट बचेकाहरूलाई सहयोग पुर्याउने संस्थाहरूको पनि अवलोकन गर्नेछिन्। यसबाहेक, दम्पतीले स्वास्थ्य सेवा तथा सामाजिक समानताको क्षेत्रमा सक्रिय संस्थाहरूलाई भेट्ने योजना बनाएका छन्।
बेलायत-नेपाल सम्बन्ध सुदृढीकरण
बकिङ्घम प्यालेसका अनुसार, यो भ्रमणले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य राखेको छ। भ्रमणले युवा अवसर, स्वास्थ्य सेवा, महिला सशक्तिकरण, र जैविक विविधताका साझा चासोलाई प्राथमिकतामा राख्नेछ।
नेपाल भ्रमण सम्पन्न गरी दम्पती माघ २७ साँझ बेलायत फर्किनेछन्।