Breaking news

१ खर्ब ४३ अर्बमा किनेको सेयर साढे ६ अर्बमा बेचेर बाहिरियो आजियाटा

१५ मंसिर, काठमाडौं ।

मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एन

सेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ ।

आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

तर, सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजिआटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजिआटाले आफ्नो शतप्रतिशत सेयर रहेको रेनोल्डस् होल्डिङ लमिटेड बेलायती कम्पनीलाई बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग रेनोल्ड होल्डिङ खरिद गरेको थियो । एनसेलमा रेनोल्डको शतप्रतिशत सेयर छ ।

आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो ।

तर, त्यसको साढे सात वर्षपछि कम्पनी त्यसको तुलनामा अत्यन्तै काम मूल्यमा सेयर बिक्री गरी नेपालबाट बाहिरिने निर्णय गरेको छ ।

एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानूनअनुसार त्यसपछि त्यो लाइसेन्स सरकारको नाममा आउनेछ । त्यसो हुँदा लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२९ सम्मको व्यवसाय तथा दायित्वको जिम्मवारी एनसेलले लिने र विद्यमान र भविष्यमा पनि एनसेललाई सरकारले कुनै कर दाबी गर्‍यो भने त्यो खरिदकर्ता अर्थात् स्पेक्ट्रलाइट युकेले बेहोर्ने गरी सम्झौता भएको पनि उसले उल्लेख गरेको छ ।

एनसेललाई राज्यले दोहोरो कर लगाएका कारण सृजित वातारवण एवम् सन् २०२९ मा कम्पनीको मोबाइल लाइसेन्सको अवधि सकिँदै गएको अवस्थामा त्यो जोखिमलाई पनि ध्यान दिएर नेपालबाट बाहिरिने निर्णय गरेको उसले उल्लेख गरेको छ ।

सन् २०२९ पछि एनसेलमा रहेको आफ्नो स्वामित्व नेपाल सरकारमा जाने जोखिम रहेको तथा नेपालमा विदेशी लगानीको संरक्षणको वातावरण नरहेकाले समेत कम्पनीले नेपाल छोड्ने निर्णय गरेको उसले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *