Breaking news

पानसराले तीन सन्तानलाई नै बाटोमा जन्माइन्

२० मंसिर , २०२० बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् ।

बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा लागेपछि बाटोमै छोरीलाई जन्म दिनुभएको हो । सुत्केरी व्यथा लाग्ने वित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिए ।” रोकायालाई बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले बाटोबाट उद्धार गरी स्वास्थ्य चौकी लगिएको चदाराले बताउनुभयो ।

उहाँसँग अरु कोही आफन्त नभएको भन्दै एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा व्यथा लागेपछि बाटोमा बच्चा जन्माएकी उहाँको भनाइ थियो । रोकायाका यसअघि एक छोरा र एक छोरी छन् । उहाँले तीनै सन्तान बाटोमै जन्माउनुभएको हो ।

बाजुरामा रोकाया मात्र नभइ धेरै आमा बाटोमै बच्चा जन्माउन बाध्य छन् । केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माउनु भएको थियो । “जिल्लाको गौमूल गाउँपालिका–३ माझपालीकी २१ वर्षीया भाँग्य चदारा, हिमाली गाउँपालिका–१ बामुकी नानी रोकाया, हिमाली–२ नातिखोलाकी २३ वर्षीया पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलागयत पनि स्वास्थ्य संस्था जाँदै गर्दा व्याथा लागेपछि बाटोमै नवजात शिशु जन्माएका केही उदाहरण हुन्”, रुगिन चौकीमा कार्यरत बिमला पाण्डेले भन्नुभयो। उहाँका अनुसार यी केही उदाहरण मात्र भएको जनाउँदै बाजुराका दुर्गम गाउँका बाटो र घरमा सुत्केरी हुनेको सङ्ख्या धेरै रहेका छन् ।

बाजुरामा चार वर्षयता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम रहेको बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताउनुभयो ।

सुत्केरी भएको बेला आराम नगर्ने, पोसिलो खानेकुरा नखाने, कडा परिश्रम गर्नेलगायत कारणले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिना एकदेखि दुईजना महिला बाटोमै सुत्केरी हुने गरेका खड्काले जानकारी दिनुभयो ।

सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दा पनि सुत्केरी महिला मर्ने क्रम नरोकिएको उहाँको भनाइ थियो । बाजुराका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनिय अवस्थामा रहेको खड्काले बताउनुभयो । कडा परिश्रम, धेरै र कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *