Breaking news

नक्कली नियुक्तीपत्र बनाएर राष्ट्रिय अनुसन्धानको जागिर खुवाउने फहद खा पक्राउ

२२ मंसिर, २०८०

बेरोजगारी समस्याले तड्पिएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का प्रदिप बर्माले जसरी पनि सरकारी जागिर खाने निधो गरे। जुनसुकै माध्यमबाट भएपनि सरकारी सेवामा छिरेर सहज रुपमा जिन्दगी बिताउने उनको सपना थियो।

त्यही सपनाका बीच उनको सम्पर्कमा आए, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ नहरपुर्वा निवासी फहद खाँ। उनले बर्मालाई सजिलैसँग सरकारी जागिर खुवाउने आश्वासन दिए र बर्मासँग रहेका आवश्यक कागजातहरु मागे।

बर्माले पनि उनलाई सजिलै विश्वास गरेर आफूसँग भएका कागजातहरु हात पारे। खाँले बर्मालाई सरकारी छाप किर्ते गरेर राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तीपत्र दिन नै भ्याए। आफूलाई दिइएको नियुक्तीपत्र नक्कली हो वा सक्कली भनेर बर्माले कुनै भेउ पाएनन्।

बरु जागिर खुवाए वापत बर्माले गत भदाैं ३ गते खाँलाई नगद २६ हजार बुझाए। नियुक्तीपत्र पाएपछि उनले राष्ट्रिय अनुसन्धानका लागि फिल्डमा खटिएर काम गर्न सुरु गरे। जागिर सुरु गरेको जब महिना दिन पुग्यो, बर्माले तलब माग्न थाले। त्यसपछि खाँ सम्पर्कमा नै आएनन्। आफूलाई सरकारी छाप किर्ते गरेर नक्कली नियुक्तीपत्र दिएको कुरा बर्माले तब मात्र थाहा पाए। वास्तविक कुरा थाहा पाउँदा बर्मा छांगाबाट खसेझै भए। त्यसपछि उनी कानुनी कारबाहीका लागि प्रहरीको सम्पर्कमा पुगे।

बर्माको निवेदन आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले खाँलाई खोज्न सुरु गर्यो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिने भन्दै ठगी गर्ने खाँ अन्ततः प्रहरीको फन्दामा परेका छन्। आरोपी खाँलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए। कार्यालयमा पीडितले सूचना दिएपछि नेपालगन्ज–२२ नहरपुर्वा निवासी खाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता डाँगीले जानकारी दिए।

‘कोही कसैले कसैलाई राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिन्छु भनी ठगी गरेको जानकारी पाएमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन समेत यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ,’ जिप्रका बाँकेद्धारा जारी नोटमा भनिएको छ। आरोपी खाँले जागिर लगाईदिन्छु भन्दै अन्य ब्यक्तीलाई पनि ठगेको हुन सक्ने बाँके प्रहरीको आशंका छ।

साभार नागरिक न्युज

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?