Breaking news

बर्दिया जिल्लामा पहिलो पटक बढैयाताल गाउँपालिकामा नमुना युवा संसद अभ्यास कार्यक्रम सुरु

विश्वास चापागाई, बर्दिया

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय भुवनेश्वर चौधरी ज्यूले उद्घाटन गरे सँगै सुनगाभा होटलको सभाहलमा नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको हाे ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा शिक्षा युवा तथा खेलकुद शाखा बढैयातालको आयोजनामा नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

उद्घाटन कार्यक्रमका प्रमुख अथिति माननीय भुवनेश्वर चौधरीले भने ‘युवाको सहकार्य विना कुनै किसिमका काम सम्भव हुँदैन, त्यस प्रकारको युवाको नेतृत्व क्षमता विकास गरी जानु पर्ने आवश्यकता छ ।’माननीय चौधरीले नयाँ संचरना अनुसार मुलुकलाई समृद्ध बनाउन उत्पादन र श्रम सम्बन्धलाई एक ठाउँमा लिएर पूँजी र प्रविधि परिचालन गर्नु पर्ने आवश्यकता औंल्याए ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले कार्यक्रमले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्ने बताए ।

‘नमूना युवा संसद कार्यक्रम अभ्यास कार्यक्रम यस वर्षदेखि गाउँपालिकामा सुरु गरिएको छ’ उनले भने, ‘यो कार्यक्रमबाट मुलुक सञ्चालन सम्बन्धी जानकारी हुन्छ, चार दिनमा त्यो अभ्यास गरिन्छ ।’ देश विकास र समृद्धिमा युवा मेरुदण्ड भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष त्रिपाठीले सबै क्षेत्रमा सहकार्य र समन्वय आवश्यक हुने बताए ।

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले यस कार्यक्रममा सहभागि २७ युवा/युवतीहरुको खान पिन तथा आवश्यक परे बसोबासको समेत व्यवस्था गाउँपालिका ले गर्ने बताए ।

उदघाटन कार्यक्रममा बढैयाताल लुम्बिनी प्रदेश सभा सदस्य माननीय भुवनेश्वर चौधरी, गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, कार्यपालिका सदस्य चन्द्रकला विक, शिक्षा तथा खेलकुद शाखा सहायक प्रमुख धन बहादुर थापा, वडा नं ६ का वडा अध्यक्ष शुक्र राज सापकोटा,  स्थानीय पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *