Breaking news

छायाँनाथ रारा नगरपालिका-८,का वडा अध्यक्ष रावल निलम्बन

कमल बिक, मुगु

मुगुको छायाँनाथ रारा नगरपालिका-८, का वडा अध्यक्ष कर्ण बहादुर रावल निलम्बन परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु,वडाध्यक्ष कर्ण बहादुर रावल सहित १० जना विरुद्ध विशेष अदालतमा गएको माघ १५ गते सोमबार उनीहरु विरुद्ध मुद्दा दायर गरेको थियो । नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको ठहर गर्दै उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

वडा नम्बर ८ का वडाध्यक्ष कर्ण बहादुर रावल र वडा नम्बर ७ का तत्कालीन सदस्य पशुपति शाहीले लागत अनुमान तथा सम्झौता अनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस गरेका थिए ।
सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघ १६ मंगलबार नगरपालिकालाई पत्र पठाएको थियो ।

आयोगले प्रतिवादी मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु समेत भएको गैर कानूनी लाभ हानी गरी भ्रष्टाचार गरेको मुद्धामा आयोगको २०८० पुस २६ गतेको निर्णय अनुसार विशेष अदालत काठमाण्डौमा २०८० माघ १५ मा आरोप पत्र दायर गरिएको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम २८ बमोजिम आवश्यक जानकारी एवं कारवाही गरी जानकारी पठाउन पत्र पठाएको थियो ।

२०८० माघ २५ मा नगरपालिकाले आयोगबाट आएको पत्रनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम स्वतः निलम्बन भएको व्यहोरा आयोगलाई जानकारी गराएको नगरपालिकाको उक्त पत्रमा उल्लेख गरेको छ । हाल निलम्बनमा परेका वडा अध्यक्ष रावल नेपाली काँग्रेस मुगु जिल्लाका उप सभापति समेत हुन ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?