१३ मंसिर, काठमाडौं ।
शरीरमा कुनै भाइरल संक्रमण, ब्याक्टेरियाको संक्रमण र कुनै चोटपटक लाग्दा ज्वरो आउँछ । ज्वरो आउँदा खान मन नलाग्ने, खाए पनि नरुच्ने हुन्छ । यस्तो बेला जबर्जस्ती खान हुन्छ कि हुँदैन ? धेरैको मनमा यो प्रश्न आउन सक्छ ।
एमडी इन्टरनल मेडिसिन डा. निमेश पौडेल ज्वरो आउँदा धेरैजसोलाई खाना नरुच्नु सामान्य रहेको बताउँछन् । ‘ज्वरो दुई किसिमको संक्रमणले हुन्छ, ब्याक्टेरिया र भाइरल इन्फेक्सन,’ उनी भन्छन्, ‘भाइरल इन्फेक्सनमा झन् बढी खाना नरुच्ने हुन्छ ।’
कलेजोमा इन्जाइम अर्थात् एएसटीको वृद्धिले पनि खाना नरुच्ने हुन्छ । एएसटी दुई कलेजो इन्जाइममध्ये एक हो । यसलाई मेडिकल भाषामा सिरम ग्लुटामिक–अक्सालोएसेटिक ट्रान्समिनेज (एसजीओटी) भनिन्छ । यो कोषिकाद्वारा बनाइएको प्रोटिन हो । यसले शरीरमा मेटाबोलिज्म बढाउन मद्दत गर्छ ।
पाचन प्रक्रियामा सहयोग गर्न यसको महत्वपूर्ण भूमिका हुने डा. पौडेल बताउँछन् । ‘यसमा समस्या हुँदा खाना नरुच्ने हुन्छ । यदि कलेजो स्वस्थ छ भने खाना मज्जाले रुच्छ,’ उनी भन्छन् ।
त्यसो भए ज्वरो आउँदा खान मन नलागे पनि खाने कि नखाने त ?
‘यसबेला चिकित्सकले खाना खानुस् भनेरै जोड दिइरहेका हुन्छौं । किनकि यसबेला खाना खाएन भने झन् कमजोर भइन्छ,’ डा. पौडेल भन्छन्, ‘यसले अन्य जटिलता हुने सम्भावना हुन्छ । तर बिरामीको अवस्था हेरेर खाना खानुपर्छ । जस्तै ज्वरोसँगै कब्जियत पनि भएको छ भने ठोस खानेकुरा खानुभन्दा पनि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खाएर पेट सफा राख्न जरुरी हुन्छ ।’
ज्वरो आएको बेला एकैपटक धेरै खानुभन्दा थोरै-थोरै गरेर समय-समयमा खानु राम्रो हुने उनी बताउँछन् । ‘तर चिल्लो, दूध, खसीको मासु वा धेरै पोटिनयुक्त खानेकुरा खानु हुँदैन । यसले पेट फुल्ने, वाकवाकी लाग्ने हुन सक्छ,’ डा. पौडेल भन्छन्, ‘त्यसैले फाइबरयुक्त खानेकुरा हरियो सागपात, झोलिलो खानेकुरा, फलफूल, ड्राइफुड र पानी प्रशस्त मात्रामा खाँदा लाभदायक हुन्छ ।’
ज्वरो आएको बेला खाना नखाँदा रोगप्रतिरोधी क्षमता बढ्न पाउँदैछ । त्यसैले खाना धेरै नरुचे पनि खान डा. पौडेल सुझाउँछन् ।
‘खाना खाएर केही बेफाइदा हुँदैन, बरु खाएन भने बेफाइदा हुन्छ । जस्तै खाना धेरै समय नखानाले शरीरमा सुगरको लेभल घट्ने, प्रेसरको औषधि खाइरहेको छ भने ब्लड प्रेसर कम हुन्छ,’ उनी भन्छन्, ‘त्यस्तै झन् कलेजोको बिरामी भएमा त खाना अनिवार्य खानैपर्छ । खाना खाएन भने शरीरमा सुगरको लेभल अचानक कम भएर मानिसको मृत्युसमेत हुन सक्ने जोखिम हुन्छ ।’
अनलाइन खबर